‘सामाजिक संजाल, हिंसाको जञ्जाल’


eShilalekh

१२ माघ २०७८, बुधबार १४:३४

एकाबिहानै म्यासेन्सरको नोटिफिकेसन बज्छ । म्यासेज हेर्दा समाजको एक प्रतिष्ठित व्यक्तिको म्यासेज रहेछ, जसमा लेखिएको थियो ‘गुड मर्निङ’ । मैले सहजै बिहानीको नमस्कार उस्तै शैलीमा फर्काए । लगत्तै उताबाट म्यासेज आयो, मैले सामान्य तरिकाले जवाफ दिदै गए । संचारकर्मी भएका कारण समाचारसंग सम्बन्धित विषय हो कि भन्ने मेरो अपेक्षा थियो, तर सामान्य गफमै कुराकानी टुंगियो । जसलाई मैले सहज लिए ।

दिनभर आफ्नो काम सकेर साझ खाना खाएर सुत्ने तरखरमा थिए, पुनः म्यासेन्जरको नोटिफिकेसन बज्यो । म्यासेज तिनै व्यक्तिको थियो, जो संग विहान कुरा भएको थियो । मैले सहज रुपमा जवाफ फर्काए । केही दिन अगाडी एउटा कार्यक्रम संचालन गर्दा उहाँ अतिथिको रुपमा उक्त कार्यक्रममा सहभागी हुनुहुन्थ्यो, त्यही कारण पनि मैले उहाँको म्यासेजलाई ‘इग्नोर’ गर्नुपर्ने कारण थिएन् । सम्मानित व्यक्ति भएका कारण मैले सोधिएका प्रश्नको शिष्ट शैलीमा जवाफ दिए र केही छोटो कुराकानीपछि बातचित टुंगियो ।

उहाँसंगको कुरा टुंगियो तर मेरो मनमा भने अब अनेकौ प्रश्न जन्मिन थाले । हुनत् कुराकानी सामान्य औपचारिकता भन्दा बढी थिएन् । फेसबुकमा पहिल्यैदेखी जोडिएको भएपनि प्रत्यक्षरुपमा मैले उहाँलाई त्यही कार्यक्रममा भेटेको थिए, जुन कार्यक्रमको संचालकको रुपमा म पनि पुगेको थिए । यसअघि एकपटक पनि कुराकानी नभएका कारण उहाँको प्रत्येक म्यासेजलाई मैले महत्वका साथ लिदै गए ।

केही दिनपछि पुनः उहाँको म्यासेजको नोटिफिकेसन आयो । स्टोरीमा प्रतिक्रिया दिएर लेखिएको रहेछ ‘व्युटिफुल’ । मैले धन्यवाद फर्काए । केही क्षणमै उहाँको जवाफ आयो । ‘भर्सटाईल’ र ‘ईनरजेटिक’ जस्तो शब्दले प्रशंसा गर्न थाल्नुभयो । त्यतिबेला मैले असहज महसुस गरे । उहाँले लेखेका शब्दले मेरो प्रशंसा गरेको देखिन्थ्यो तर मैले त्यो प्रशंसालाई सहजै स्विकार गर्न सकिन् । त्यसपछि मैले धन्यवाद दिदै आफ्नो कुरा टुंग्याए । त्यसपछि लगातार उहाँको म्यासेज आउन थाल्यो, जुन मैले अपेक्षा गरेभन्दा फरक थियो । मैले उहाँको म्यासेज ‘ईग्नोर’ गर्न थाले ।

समाजको एक प्रतिष्ठित व्यक्तित्व, जसलाई समाजले हेर्ने सम्मानित दृष्टिकोण र गर्ने सम्मानित व्यवहार । संचार कर्मसंग जोडिएको मैले सम्मानमा कमि गर्नुपर्ने कारण थिएन । तर केही दिनको छोटो कुराकानीले उहाँलाई हेर्ने दृष्टिकोण भने मेरो बदलिन पुग्यो । म गलत पनि हुन सक्छु । तर उहाँसंग बोल्नैपर्ने बाध्यात्मक स्थिती नभएका कारण मलाई त्यो निर्णय लिन कुनै अफ्ठेरो भएन् । त्यतिबेला मैले मेरो लागि र मेरो आत्मसम्मानका लागि उहाँलाई ‘इग्नोर’मा राखिदिए ।

ईग्नोरमा भएका कारण उहाँको म्यासेजको नोटिफिकेसन अब मेरो मोबाईलमा बज्न छाडिसकेको छ । उहाँ एक उदाहरण मात्रै हो, म्यासेन्जरमा यस्तै किसिमको म्यासेज यसअघि नआएको होईन् । म्यासेज गर्ने कोही परिचित हुन्छन् कोही अपरिचित । तर कस्तो म्यासेजको कस्तो जवाफ फर्काउने निर्णय नितान्त मेरो हो । म त्यसै अनुसार आफ्नो निर्णय लिएर अघि बढिरहेको हुन्छु ।
म्यासेन्जरमा आएका म्यासेजको जवाफ नफर्काउदा किन नबोलेको ? फ्रेण्ड रिक्वेस्ट एसेप्ट किन नगरेको ? बोल्न किन गाह्रो भएको ? यस्तै किसिमको म्यासेज थुप्रै हुन्छ । यति सम्मकी अपरिचित व्यक्तिले प्रेम प्रस्ताव समेत म्यासेन्जरबाट राखिसकेको हुन्छ । तर त्यसलाई कुन ढंगले लिने त्यो निर्णय म संग निहित छ । त्यसैले अनावश्यक म्यासेजबाट तनाव लिने भन्दा पनि त्यसको उचित व्यवस्थापन गर्न जरुरी हुन्छ ।

यस्तै एउटा प्रशंग जोड्न चाहे । रेडियोमा कार्यरत छु, समाचार पढ्ने र कार्यक्रम संचालन गर्ने गरेको छु । आठ वर्षको दौरानमा थुप्रै श्रोतासंग परिचित छु, धेरैसंग आत्मियता पनि बढ्दै गएको छ । तर श्रोताहरु मध्येकै एक जनाको म्यासेज लामो समयदेखी म्यासेन्जरमा आएको रहेछ । जुन श्रोतासंग कार्यक्रममा निरन्तर फोनमा कुराकानी भईरहन्थ्यो । फेसबुकमा साथी नभएका कारण मैले त्यो म्यासेज समयमै हेर्न नसकेको रहेछु । मलाई दुःख लाग्यो र उनको म्यासेज सुरु देखि पढ्न थाले । तर अन्तिमसम्म पढ्दा उनले म्यासेज नहेरेको रिस पनि पोख्न भ्याईसकेका रहेछन् ।

मैले सहज लिए, गल्ती मेरै थियो । मैले आफ्नो श्रोताको म्यासेज समयमै पढ्न र जवाफ फर्काउन सकिन् । तर उनको अन्तिम म्यासेजहरुले तत्काल जवाफ फर्काउन मलाई निकै असहज बनायो र यतिकै छाड्न म बाध्य भए । क्षमायाचनासहित उनको जवाफ फर्काउन मन थियो, तर आक्रोशसहितको उनको म्यासेज पढेपछि म निशब्द हुन पुगे ।

एकदिन महिलासंग सम्बन्धित कार्यक्रम संचालन गर्दा तिनै श्रोताको फोन आयो । महिलालाई गरिने सम्मान र यस्तै विषयसंग सम्बन्धित कुराकानीमा उनले खुलेर आफ्नो धारण राखे । उनको धारणाबाट म खुशी भए, मैले त्यो बेला म्यासेन्जरको म्यासेज सम्झिन चाहिन । कुराकानी टुंगियो । त्यसको केही दिनपछि पुनः उनले म्यासेज गरे । उक्त म्यासेजमा कुनै शिष्टता थिएन्, फोनमा महिला सम्मानको कुरा गर्दा खुशी भएको मेरो मन उनको म्यासेज पढेर पुनः दुखित हुन पुग्यो । मैले तत्काल प्रतिक्रिया दिईन । त्यही दिन राती उनले अचानक मेसेन्जरमा भिडियो कल समेत गरे, मैले रिसिभ गरिन् ।

उनको कलपछि पुनः मेरो मनमा अनेकौ कुरा खेल्न थाले । कसैको जवाफ फर्काउनु वा नफर्काउनु त्यो मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर जवाफ नफर्काएकै कारण मानसिक तनाव झेल्नुपर्ने ? आफैले आफैलाई प्रश्न गर्न थाले । जवाफ भेटिन । हुनत् सामाजिक संजाल भनेको बिश्वब्यापी रुपमा एक अर्कालाई जोड्ने संजाल हो । तर यसको अर्थ सबैसंग जोडिनै पर्छ भन्ने हुदैन । सम्बन्ध विस्तार गर्ने नाममा असभ्यतालाई स्वीकार गर्न सकिदैन ।

म मात्रै होईन्, यस्तै समस्या भोग्ने थुप्रै सहकर्मी साथीहरु पनि छन् । रेडियोमै कार्यरत एक जना महिला पत्रकारले ‘अनलाईन ह्यारेसमेन्ट’ को प्रशंग चलिरहदा आफ्नो अनुभव सुनाईन् । रेडियोमा कार्यरत उनि कपडा किन्न बजार गएकी रहिछिन् । एउटा पसलमा पुगेकी उनलाई त्यसका संचालकले रेडियोमा काम गर्नुहुन्छ भन्दै सोधे । उनले हो भन्दै जवाफ दिईन् । त्यसपछि संचालकले आफ्नो पसलको विज्ञापन रेडियोमा बजाउनुपर्ने छ भन्दै सम्पर्कका लागि उनको मोबाईल नम्बर लिएछन् । उनिले पनि रेडियोसंग सम्बन्धित विषय भएका कारण सहजै नम्बर दिएर घर फर्किइन् ।

घर पुगेको केही बेरमा उनको मोबाईलमा म्यासेज आउछ ‘आई लभ यु’ भन्दै म्यासेज आउछ । उनि छक्क पर्छिन् । मेसेज पठाउने तिनै पसल संचालक थिए । केहीबेरमै अर्को म्यासेज आउछ ‘म तपाईलाई धेरै माया गर्छु, धेरै दिन देखि तपाई संग बोल्न खोज्दै थिए, आज मौका पाए’ । म्यासेज पढेर उनि निशब्द हुन्छिन र ईग्नोर गर्छिन् । त्यसको भोलिपल्ट उनको म्यासेन्जरमा म्यासेज आउछ, म्यासेज पठाउने पसल संचालक हुन्छन र म्यासेजमा विवाहको प्रस्ताव आउछ । ‘म तपाईलाई साँचो माया गर्छु, मैले मेरो घरमा पनि कुरा राखेको छु, सबैको सहमति छ, तपाईलाई माँग्न कहिले आउ ?’

म्यासेज पढेर उनि आक्रोशित हुन्छिन् र रेडियो पुगेर उसलाई फोन गर्दै हप्काउछिन् । तत्कालै उनले पसल संचालको नम्बर ब्ल्याक लिस्टमा राख्छिन् । त्यसको केही दिनपछि पसल संचालकले म्यासेन्जरमा आफू मर्ने धम्की दिदै उनिलाई धम्क्याउने प्रयास गर्छन् । उनको धम्कीले अत्तालिन पुगिन् । पसल संचालकले हात काटेको, टाउको फुटाएको तस्विर उनिलाई पठाउन थाल्छन् । तस्विर हेरेर मानसिक तनावमा परेकी उनि डराउन थाल्छिन् । यसबीचमै उनले घटनाको वास्तविकता आफ्नो अभिभावकलाई सुनाउने निर्णय गर्छिन् ।

पसल संचालकले पठाएको सबै म्यासेज हेरेपछि अभिभावकले उनको हौसला बढाउछन् र उनिलाई तनावमुक्त हुन अनुरोध गर्छन् । कामलाई निरन्तरता दिन र यस्तो कुरालाई ‘ईग्नोर’ गरेर अघि बढ्न सुझाएपछि उनि खुशी हुन्छिन् र आफ्नो नियमित काममा फर्कन थाल्छिन् । त्यसयता फरक फरक आईडीबाट आउने म्यासेजलाई उनले वास्ता गर्न छाडिन् ।

रेडियो पत्रकारितामै भविष्य खोज्दै गरेकी उनले केही समय भोग्नुपरेको पिडा भने निकै दुःखदायी र अस्वभाविक थियो । हामी शारिरीक हिंसालाई मात्रै हिंसा बुझ्ने गर्छौ । तर सामाजिक संजालबाट हुने यस्ता गतिविधि पनि हिंसानै हुन् । मानसिकरुपमा कसैलाई तनाव दिनु, यो हिंसा हो यसलाई कदापी स्विकार गर्नुहुदैन्, यसकाविरुद्ध आवाज उठाउन जरुरी हुन्छ ।

सामाजिक संजालमा नकारात्मक कमेन्ट, असभ्य म्यासेज गर्नु, एउटा व्यक्ति चाहे महिला हुन् वा पुरुष उसको निजि जिवनलाई असहज बनाउनु पनि हिंसा हो । कार्यक्षेत्रमा महिलाले भोग्नुपरेको पिडा थुप्रै हुन्छ, कति बाहिर आउछन् कति दबिएर बस्छन् । आवाज उठाउदा चरित्र माथीनै प्रश्न उठाउने गरिन्छ । त्यसैले पनि महिलाहरुले सहेर बस्न बाध्य हुन्छन् । तर जबसम्म यस्ता गतिविधिविरुद्ध आवाज उठ्दैन तबसम्म यस्ता गतिविधिको अन्त्य पनि हुदैन् । सामाजिक संजालबाट हुने हिंसाबाट मुक्ति पाउन र पीडकलाई कानुनी दायरामा ल्याउन कानुनी उपचार खोज्न ढिला गर्नुहुन्न ।

एक व्यवसायी महिला केही समयअघि यस्तै साईबर अपराधको पिडाबाट गुज्रिरहेकी थिईन् । उनले कानुनी सहायता लिईन् । जसका कारण आज उनि अनावश्यक तनावबाट मुक्त छिन् । उनी एउटा उदाहारण मात्रै हुन् साईबर अपराधका कारण पिडामा परेका नारी हुन् वा पुरुष कानुनी सहायता लिन ढिला गर्नुहुदैन् । हिंसा कसैका लागि स्विकार्य हुदैन् । त्यसैले सामाजिक संजाल होस् वा कार्यक्षेत्रमा हुने हिंसा, त्यसविरुद्ध आवाज उठाउने काम आफैबाट सुरु गर्नुपर्छ ।

सामाजिक संजाल यस्तो माध्यम हो जसबाट हरेक क्षेत्रले लाभ लिईरहेका छन् । सामाजिक, आर्थिक, व्यवसायिकलगायत थुप्रै क्षेत्रका लागि सामाजिक संजाल दरिलो प्ल्याटफर्म बन्दै गईरहेको छ । यसकै माध्यमबाट हामीले सूचना, मनोरञ्जन लिईरहेका हुन्छौ । अवसर नपाएकाहरुका लागि आफ्नो क्षमता बाहिर ल्याउने सहज माध्यम बनिरहेको छ । सामाजिक संजालबाटै रचनात्मक क्रियाकलाप भईरहेका हुन्छन् । सामाजिक संजाल सशक्तीकरणको माध्यम पनि बनिरहेको छ । तर सदुपयोग भन्दा दुरुपयोग बढी गर्नेहरुका लागि यो संजाल साईबर अपराध गर्ने माध्यम बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्