नेपाली डकुमेन्ट्री ‘को–हजबेन्ड’ फ्रान्सको एथ्नोग्राफिल्म महोत्सवमा छनोट

सिमराः नेपाली डकुमेन्ट्री फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) फ्रान्सको पेरिसमा आयोजना हुने १२औँ एथ्नोग्राफिल्म महोत्सवमा छनोट भएको छ। विश्वभर नेपाललाई चिनाउँदै आएको यो डकुमेन्ट्री अप्रिल २ देखि ५ सम्म पेरिसमा आयोजना हुने महोत्सवमा छनोट भएको हो ।
डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले ‘को-हजबेन्ड’ ‘महोत्सवका लागि छनौट भएको जानकारी दिएका छन् । फिल्मको आधिकारिक वितरण संस्था डकुमेन्ट्री एजुकेशनल रिसोर्सेजबाट डकुमेन्ट्री महोत्सवमा छनोट भएको जानकारी प्राप्त भएको पाण्डेले बताए ।
३५ मिनेट लामो यो डकुमेन्ट्री कर्णाली प्रदेशको हुम्ला जिल्लामा छायाङ्कन गरिएको छ । फिल्मले बहुपति प्रथालाई केन्द्रमा राखेको छ । जहाँ एउटै घरका दाजुभाइहरूले एउटै श्रीमती विवाह गर्ने परम्परा कतिपय हिमाली जिल्लामा अझै कायम रहेको विषयलाई पर्दामा उतारिएको छ।
डकुमेन्ट्रीले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा पुरस्कार र प्रशंसा प्राप्त गरिसकेको छ। फिल्मले अमेरिका, क्यानडा, जापानलगायतका देशमा अवार्ड तथा पुरस्कार जितिसकेको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका पाण्डेको यो दोस्रो डकुमेन्ट्री हो । यसअघि उनको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स) ले डेढ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो।





