बलियो आर्मीलाई पराजित गर्दै मधेस प्रदेशले उचाल्यो केपी ओली कप


eShilalekh

१५ मंसिर २०८०, शुक्रबार २३:५२

सिमराः मधेस प्रदेश क्रिकेट क्लबले पोखरामा आयोजित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधी उचालेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेसले उपाधी उचालेको हो ।

फाइनल भिडन्तमा टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले आठ विकेटको क्षतिमा एक सय ३८ रनको मध्यम योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २० ओभरमा सात विकेट गुमाउदै एक सय २४ रन मात्रै बनाउन सक्यो ।

आर्मीबाट नेपाली राष्ट्रिय टोलीबाट खेलेका १० खेलाडी सहभागी थिए । बलियो आर्मीलाई पराजित गर्ने क्रममा मधेसका कप्तान हरिशंकर साहले चार विकेट लिए । ब्याटिङतर्फ उनले २७ रन जोडे । मधेसका लागि बिशाल पटेलले अविजित ४९ रन बनाए ।
आर्मीका लागि भने कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले २५ र भिम सार्कीले २२ रन बनाए । मधेसका लागि प्रदीप पासवाले दुई विकेट लिए ।

प्रतियोगिताको उपाधि विजेता मधेसले पाँच लाख र उपविजेताले आर्मीले दुई लाख ५० हजार प्राप्त गरेको छ । प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट मधेसका कप्तान साह घोषित भए । प्रतियोगितामा १० विकेट लिएका बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर घोषित हुँदा रित गौतम उत्कृष्ट ब्याट्सम्यान घोषित भए । साहले ३५ हजार, लामिछाने र गौतमले समान २०/२० हजार प्राप्त गरे ।

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्